मलेसियाले विदेशी कामदारमाथिको बन्देज हटाउने, रोजगारीका चार क्षेत्र खुला गर्ने तयारी

रामचन्द्र गिरी, मलेसिया

वैशाख ३०, २०७३- यसअघि नयाँ विदेशी कामदार लिनमा रोक लगाएको मलेसियाले अब पुन: ती कामदार लिने भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सरकारले अब उत्पादन, निर्माण, प्लान्टेसन र फर्निचर–निर्माण लगायत रोजगारीका चार क्षेत्र विदेशी कामदारका लागि पुन: खुला गर्ने भएको हो । यद्यपी उक्त निर्णय कहिलेदेखि लागू हुने भन्नेबारे स्पष्ट भइसकेको छैन ।

मलेसियाली आवासीय तथा औद्योगिक क्षेत्रमा कामदार चरम अभाव भएपछि रोजगारदाता र सरोकारवालाले सरकारलाई यसअघि लगाइएको उक्त बन्देज हटाउन अनुरोध गर्दै आएका थिए । केही साताअघि मलेसियाका करिब ८४ प्रतिशत विभिन्न उत्पादन क्षेत्रमा कामदार अभाव भएको रिपोर्ट सार्वजनिक भएको थियो ।

‘कामदार गम्भीर अभाव भएको सन्दर्भमा हामीले लगाइएको बन्देज यी क्षेत्रमा कामदार ल्याउन फुकुवा गर्नुपर्दछ,’ मलेसियाली यातायातमन्त्री लियो तियोङको भनाई उध्दृत गर्दै स्थानीय दैनिक द स्टारले उल्लेख गरेको छ ।

उनका अनुसार सरकारले गैरकानुनी कामदारलाई बैध गराउन हाल संचालनमा रहेको ‘पुन: भर्ना’ कार्यक्रमलाई थप सुधार गर्न र प्रभावकारी बनाउनतर्फ लागिरहेको छ । मलेसियामा रहेका नेपालीमध्ये बहुसंख्यक सेवा, सुरक्षा र उत्पादन क्षेत्रमा कार्यरत छन् ।

यीमध्ये सेवा क्षेत्रमा तत्काल खुला गर्ने कुनै संकेत देखिएको छैन । यद्यपी मन्त्री तियोङले विदेशी कामदारका लागि रोजगारीका अन्य क्षेत्र पनि चरणबद्ध रुपमा खुला गरिने बताए ।

यसअघि करिब १५ लाख बंगलादेशी कामदार ल्याउने घोषणा गरेपछि मलेसियाली श्रम बजारमा हल्लाखल्ला भएको थियो ।

पछि विभिन्न सरोकारवालाले नयाँ कामदार ल्याउनुभन्दा मुलुकमै भएका गैरकानुनी विदेशी कामदारलाई बैधानिकता दिएर कामदार माग पूर्ति गर्नुपर्नेमा जोड दिँदै आएपछि सरकारले गैरकानुनी कामदारको ‘पुन: भर्ना’ कार्यक्रम संचालनमा ल्याएसँगै सबै विदेशी कामदार लिनमा रोक लगाएको थियो ।

सरकारले बहुसंख्यक विदेशी कामदार कार्यरत क्षेत्र उत्पादन, सेवा, निर्माण, कृषि लगायमा नयाँ विदेशी कामदारको सटटमा आफ्नै नागरिक कामदारलाई प्रोत्साहन गराउँदै आएपनि उनीहरु खासै रुची देखाएका छैनन् ।

‘थ्रि डी’ समेत भनिने ‘फोहोर, गाह्रो र जोखिमयुक्त’ काममा स्थानीय कामदारले खासै रुची नदिने हुँदा विदेशी कामदार नै मलेसियाका लागि बलियो ‘विकल्प’  रहँदै आएको छ ।

मलेसियाको अर्थतन्त्रमा उत्पादन र निर्यातमूखी बजारको उल्लेखनीय योगदान रहँदै आएको छ । यहाँका रबर, फर्नीचर, तेल लगायत सामाग्री विश्वबजारमा निर्यात हुँदै आएका छन् । यी क्षेत्रमा अधिकांश विदेशी कामदार कार्यरत छन् ।

करिब २६ सय नेपाली दर्ता
गैरकानुनी आप्रवासी कामदारलाई बैध गराई रोजगारी दिन मलेसियाले गत फेब्रुअरी १५ देखि सुरु गरेयताको करिब ३ महिने अवधिमा करीब २६ सय नेपाली कामदार दर्ता भएका जनाइएको छ । उनीहरुले दर्तापछि स्वास्थ्य परीक्षण, कागजात परीक्षण लगायतमा बाँकी प्रक्रिया पूरा गरेपछि योग्य देखिए आगामी तीन वा पाँच बर्षसम्म काम गर्ने अनुमति पाउनेछन् ।

केही दिनअघि सार्वजनिक एक तथ्यांकअनुसार ती नेपालीसहित हालसम्म गैरकानुनी हैसियतका करिब ५५ हजार उक्त कार्यक्रममा दर्ता भएका छन् । कार्यक्रममार्फत रोजगारदाताले अनलाइनमार्फत आफुले रोजगारी दिन चाहेका कामदारका सबै विवरण अनलाइनबाटै सम्बन्धित सरकारी निकायमा पठाई दर्ता गराउन सक्नेछन् ।

अनलाइन प्रणालीमार्फत संचालनमा ल्याइएको यो कार्यक्रम आगामी जुन ३० मा सकिनेछ । मलेसियाले हाल गैरकानुनी कामदार दर्ता कार्यक्रममा सामेल गराउन दबाबमूलक अभियान संचालन गर्दै नियमित रुपमा उनीहरुको ‘खोजी र कारबाही’ समेत गर्दै आएको छ ।

मलेसियाले यसअघि पनि पटक पटक आममाफी एवं बैधानिकता लिने अवसर दिएको थियो । करिब २१ लाख बैध विदेशी कामदार र झण्डै त्यति नै संख्यामा अवैध कामदार रहेको ठानिएको मलेसियामा यसपालीको पुन रोजगारी कार्यक्रमबाट अपेक्षित संख्यामा कामदार सामेल भएका छैनन् ।

नेपाली दूतावासको एक तथ्यांकअनुसार गत २ बर्षयता ‘स्वेच्छिक फिर्ती कार्यक्रम’ (थ्रि प्लस वान् भोलुन्टार्ली डिपोर्टेशन प्रोग्राम) मार्फत करिब ६० हजार नेपाली स्वदेश फिरेको देखिन्छ ।

साभार :कान्तिपुर, प्रकाशित: वैशाख ३०, २०७३

 

register

Contact Us

info@jaagirkhane.com
9851087384
sdfsdafsdaf