मलेसियामा गैरकानुनी कामदारलाई अर्को अवसर, योग्य हुनेलाई रोजगारीका थप १७ क्षेत्र खुला

कान्तिपुर संवाददाता , क्वालालम्पुर

जेष्ठ १९, २०७३- मलेसियाले गैरकानुनी रुपमा रही ‘पुन: भर्ना तथा स्थानान्तरण’ कार्यक्रममार्फत दर्ता भई योग्य हुने विदेशी कामदारहरुलाई रोजगारीका थप १७ सहायक क्षेत्रहरु पनि खुला गरेको छ । मलेसियाले सेवा क्षेत्रअन्तर्गत रहेका ती क्षेत्रमा विदेशी कामदारलाई अवसर दिने भएको हो ।

स्थानीय दैनिक न्यु स्ट्ेरट्स टाइम्स दैनिकको अनलाइनमा प्रकासित समाचारअनुसार दर्ता भई योग्य हुने विदेशी कामदारले अब थीम पार्क, गल्फ क्लब, होलसेल एण्ड रिटेल सप, टेक्सटाइल, ज्वेलरी, कार वास, वेयलफेयर एसिस्टेन्ट, मार्केट्स, पेट्रोल स्टेशन, हाइपर मार्केट, खानी, फर्नीचर, वायर हाउस, पोर्ट कार्गो लगायत विभिन्न क्षेत्रमा पनि काम गर्न पाउँछन् ।

गत फेब्रुवरी १५ देखि लागू भएको ‘पुन भर्ना एवं स्थानान्तरण कार्यक्रम’ मार्फत दर्ता भई योग्य हुने कामदारलाई अब निर्माण, उत्पादन लगायत क्षेत्रका अलावा ती क्षेत्रमा पनि रोजगारी  गर्न खुला गर्ने निर्णय गरिएको सहायक गृहमन्त्री नुर जज्लानलाई उध्दृत गर्दै समाचारमा जनाइएको छ ।

अनुमानित करिब २१ लाख विदेशी कामदार गैरकानुनी रुपमा कार्यरत रहेको अनुमान हुँदै आएको छ । ताजा तथ्यांकअनुसार १९ लाख ९३ हजार विदेशी कामदार बैध रुपमा कार्यरत छन् । तीमध्ये ४ लाख ८३ हजारको हाराहारीमा नेपाली कार्यरत छन् । गैरकानुनी कामदारका लागि सुनौलो मानिएको यस कार्यक्रममार्फत करिब ४ हजार दर्ता भएपनि अझैं हजारौं नेपाली गैरकानुनी रुपमा रहेको अनुमान छ ।

यस कार्यक्रममार्फत आफ्ना सबै विवरणसहित पहिलो चरणमा दर्ता भएका कामदारले जरिवाना तिरेको र दर्ता भएको प्रमाण, स्वास्थ्य परिक्षणको नतिजापत्र सहित आफुलाई रोजगारी उपलब्ध गराउने कम्पनीको प्रतिनिधिसहित अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने प्रावधान छ ।

त्यसपछि योग्य हुनेले मात्र अध्यागमन कार्यलयबाट श्रम स्विकृति पाउनेछन् । अनलाइन प्रणाली अनुरुप संचालनमा ल्याइएको यो कार्यक्रमका लागि ‘रिहाइरिङ डट आईएमआई डट जिओभी डट माई’ लग इन गरि रोजगारदाताले आफुले भर्ना गर्न चाहेको कामदारका विवरण दर्ता गराउन सक्ने प्रावधान छ ।

सरकारले विभिन्न तीन कम्पनीलाई यस कार्यक्रम व्यवस्थापनको जिम्मा दिएको भएपनि अन्य थुप्रै एजेन्सीले पनि ‘आन्तरिक मिलेमोतो’ मा कामदार विवरण दर्ता गर्दै आएको गुनासो समेत पाइएको छ । उक्त कार्यक्रममार्फत दर्ता हुन बैध हुन चाहने कामदार गैरकानुनी भएको कम्तीमा ६ महिना भइसकेको हुनुपर्ने, आपराधिक गतिविधिमा लागेको पृष्ठभूमी नभएको, राहदानीको म्याद कम्तीमा १ बर्ष हुनुपर्ने, स्वास्थ्य परिक्षणमा योग्य हुनुपर्ने र संयुक्त राष्ट्र संघमार्फत शरणार्थी परिचयपत्र नलिएको हुनुपर्ने लगायत प्रावधान छन् ।

साभार :कान्तिपुर, प्रकाशित: जेष्ठ १९, २०७३

register

Contact Us

info@jaagirkhane.com
9851087384
sdfsdafsdaf