घर फिर्न दलालको सहारा

रामचन्द्र गिरी, मलेसिया

जेष्ठ ७, २०७३- दुई वर्षअघिदेखि मलेसियामा गैरकानुनी रूपमा कार्यरत लमजुङका सुकबहादुर गुरुङ (नाम परिवर्तन) स्वदेश फिर्नका लागि दुई साताअघि क्वालालम्पुरस्थित दूतावास पुगे ।

बाटैमा पक्राउ परिने पो हो कि भन्ने त्रास बोक्दै जोहोरबारुबाट झन्डै पाँच घण्टा बसयात्रापछि बल्लतल्ल त्यहाँ पुगेपछि उनी ढुक्क भएका थिए तर पछि दूतावासका कर्मचारीले जब ‘घर फिर्न मलेसियाले खुला गरेको छैन’ भने, तब उनी तनावमा परे ।

‘दूतावास पुगेपछि ढुक्क होला भन्ने लागेको थियो तर दूतावास कर्मचारीले मलेसियाले घर फिर्न औपचारिक रूपमा खुला गरेको छैन तर यात्रा अनुमतिपत्र चाहिँ दिन्छौं भनेपछि म फेरि तनावमा परें,’ उनले भने ।

दूतावासबाटै घर फर्कन पाइने आस बोकेर त्यहाँ पुगेका सुकबहादुर हातमा यात्रा अनुमतिपत्र लिएर के बाहिरिँदै थिए, एकजना नेपालीले उनलाई पछ्यायो र प्रश्न गर्‍यो, ‘तपाईं नेपाल फर्कने हो दाइ ?’

‘हो, तर फर्कन मिल्दैन रे अहिले त,’ सुकबहादुरले सीधा जवाफ फर्काए । फेरि उसले सोध्यो, ‘कसले भन्यो नहुने कुरा ? जत्ति पनि मिल्छ, टिकटसहित १८ सय रिंगिट लाग्छ । हिँड्नुस् तपाईंलाई दुई/तीन दिनमै उडाइ दिन्छु ।’

गत साता घर फिर्नुअघि गुरुङले सुनाए, ‘ऊ त्यस्तै काम गर्ने दलाल रहेछ । त्यसपछि उसले मलाई स्थानीय नेपाली होटलमा बस्नुस् । भोलि मलक्का इमिग्रेसनमा फिंगरप्रिन्ट गर्न जानुपर्छ भन्यो । मैले १८ सय रिंगिट उसलाई बुझाएँ । भोलिपल्टै मलक्कामा औंठाछाप गराई जरिवाना तिराएपछि पुन: केएल (क्वालालम्पुर) ल्यायो । अब फिर्ने निश्चित भयो ।’
दूतावासका अनुसार यसअघि घर फर्कने गैरकानुनी नेपालीले जरिवानाबापत तीन सय र आउट पासबापत् एक सय गरी चार सय रिंगिट तिर्नुपर्दथ्यो ।

हवाई टिकटसहित जनही करिब १३ सय रिंगिटमा फर्कन सक्थे । हाल दलालहरूले घर फर्काएबापत् जनही १६ सय देखि २५ सय रिंगिटसम्म लिने गरेको त्यसरी फर्कने नेपालीहरूले बताए ।

नेपाली दूतावासका अनुसार मलेसियाले यस वर्ष जनवरीदेखि हालसम्म गैरकानुनी कामदार फर्कन पाउने गरी औपचारिक रूपमा कुनै पनि निर्णय गरेको छैन । त्यसैले त्यस्ता हैसियतका सबैजसो नेपालीहरू दलालमार्फत् घर फिर्ने गरेका छन् ।

गैरकानुनी नेपाली फर्काउन दूतावास कार्यालयभित्रैबाट सहज व्यवस्था हुन नसक्दा गत जनवरीयता सुकबहादुरजस्ता सबैजसो नेपालीलाई घर फिर्न दलालको ‘आन्तरिक सेटिङ’ को सहारा लिनुपर्ने बाध्यता छ ।

दैनिकजसो दूतावासभित्र दैनिक सेवाग्राहीको भीडभाड हुने गर्छ । तीमध्ये अधिकांश घर फिर्नका लागि यात्रा अनुमतिपत्र लिन आउँछन् ।

दलालहरू घर फिर्ने नेपाली खोज्दै यात्राका लागि दूतावासको अनुमतिपत्र वितरण गर्ने हल र भवन आसपासमै पुग्छन् । उनीहरूले यात्रा अनुमतिपत्र लिएर त्यहाँबाट निस्कने नेपालीलाई आफ्नो पकडमा पार्न ‘बार्गेनिङ’ गर्छन् । नेपाली दूतावासका अनुसार हाल दैनिक करिब ८० जना नेपाली घर फिर्न यात्रा अनुमतिपत्र लिनका लागि दूतावास धाउने गरेका छन् ।

यसअघि २०१३ मा ल्याएको आममाफी कार्यक्रमपछि मलेसियाले सन् २०१४ मा गैरकानुनी विदेशी कामदार घर फिर्न पाउने गरी स्वेच्छिक कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

हाल दलालहरूले सम्बन्धित निकायको ‘सेटिङ’ मा गैरकानुनी कामदार फर्काइरहेको घर फर्कने कामदारहरू बताउँछन् ।

कतिपय नेपालीलाई दलालले नक्कली यात्रा अनुमतिपत्र, राहदानीसमेत बनाएर पठाउने गर्छन् । फर्कनमध्ये कतिपय नक्कली हवाई टिकटका कारण उड्नुअघि नै विमानस्थलबाटै पक्राउ परेका उदाहरणहरूसमेत छन् ।

दूतावासले ठगी नियन्त्रण गर्न यसअघि केही पहल गरेको भए पनि यसमा सफल हुन सकेको छैन । यात्रा अनुमति पत्र रोक्दा दलालबाट ठगिनेको संख्यामा कमी आउने भए पनि पत्र रोक्दा नागरिकको ‘अधिकार’ मा प्रश्न उठ्ने भएकाले ठगी रोक्न गाह्रो भइरहेको स्रोत बताउँछ । ठगी नियन्त्रण हुन नसक्दा अधिकांश नेपालीहरू ‘दलालको पन्जा’ मा पर्ने गरेका छन् ।

‘अब यात्रा अनुमतिपत्र रोक्यौं भने विरोध आउने, नरोकौं भने दलालबाट नेपाली ठगिने,’ राजदूत डा. निरञ्जनमानसिंह बस्न्यात बाध्यता सुनाउँछन् ‘त्यसैले हामीले आफ्ना नागरिकका लागि यात्रा अनुमतिपत्र रोकेको छैनौं । कसरी जान्छन्, भन्ने कुरा बेग्लै हुने भयो ।’

राजदूत बस्न्यातका अनुसार दलालहरूको पहिचान गरी उनीहरूलाई कारबाही गर्ने काम सुरु भइसकेको छ ।

साभार :कान्तिपुर, प्रकाशित: जेष्ठ ७, २०७३

register

Contact Us

info@jaagirkhane.com
9851087384
sdfsdafsdaf