अफगानिस्तानबाट छिरेर पाकिस्तानमा अलपत्र परेका ३ नेपाली फिर्दै

देवेन्द्र भट्टराई, नयाँदिल्ली

चैत्र २४, २०७२- अफगानिस्तानको काबुलबाट गैरकानुनी रूपमा पाकिस्तान हुँदै घर फर्कने क्रममा ३ महिनादेखि अलपत्र परेका तीन नेपाली कामदारलाई इस्लामावादस्थित नेपाली दूतावासले उद्धार गरेर घर फिर्ता पठाएको छ ।

दूतावासले मोरङ विराटचोकका २७ वर्षीय विनोद दनुवार, धादिङबेसीका ३८ वर्षीय सुकबहादुर सोनार र झापा गोलधापका ५६ वर्षीय गंगाबहादुर गुरुङलाई उद्धार गरेको हो । मानव तस्करहरूले उनीहरूलाई अवैधानिक कागजात र उपायबाट दिल्ली ट्रान्जिट हुँदै करिब एक वर्षअघि काबुल पुर्‍याएका थिए ।

काठमाडौं–दिल्ली हुँदै काबुलसम्म सञ्जाल बनाएर बसेका दलाल एकाएक सम्पर्कहीन बनेपछि र भनेअनुसार काम पाउने स्थिति नरहेपछि उनीहरू अफगान–पाक सीमा छिचोलेर घर फर्कने क्रममा थिए । तीनमध्ये विनोद र गंगाबहादुर गत जनवरी दोस्रो सातामा ‘तोरखम’ नाकाबाट पाकिस्तान छिरेका थिए ।

उनीहरू पाकिस्तान छिरेयता इस्लामावादस्थित नेपाली दूतावासको संरक्षणमा थिए भने सुकबहादुर ‘तोरखम’ नाका काट्दै गर्दा पाकिस्तानी सुरक्षा निकायको नियन्त्रणमा परेका थिए ।

पाकिस्तानी सुरक्षा निकायले ४० दिन हिरासतमा राखेपछि सुकबहादुरलाई गत जनवरी २९ मा इस्लामावादस्थित नेपाली दूतावासमा बुझाएको थियो ।

यी तीनै जनालाई दुवै देशका एजेन्ट मिलेर अफगान–पाक बोर्डर (सीमावर्ती नाका) तोरखमबाट पाकिस्तानी भूमिमा छिराएका थिए । आतंकवादका विभिन्न घटनाका कारण अनधिकृत तबरमा सीमा वारपार गर्नुलाई निकै जोखिमपूर्ण रूपमा लिने गरिन्छ ।

तीनै जनालाई उद्धार/समन्वय गरी दूतावासले पछिल्लो ३ महिनामा खाने–बस्ने ठाउँ उपलब्ध गराएको थियो । तर, घर फर्कर्नै पनि कामदारले पैसा जुटाउन नसकेपछि र दूतावास कोषमा पैसा नरहेका कारण काठमाडौंस्थित एक व्यावसायिक संस्था एसिया ट्रेनिङ सेन्टरको सहयोगमा इस्लामावाद–मस्कट–काठमाडौंको उडानबाट उनीहरू बुधबार साँझ घर फिर्ने भएका हुन् ।

गाउँघरसम्मै फैलिएको मानव तस्कर सञ्जालको भर परेर जनही ६ लाख रुपैयाँ रकम बुझाउँदै अफगानिस्तान पुगेपछि मात्रै यी नेपालीले आफूहरू खतरामा परेको संकेत पाएका थिए ।

उनीहरूले दूतावासमा दिएको बयानअनुसार काबुलको कुनै भित्री होटलको कोठामा महिनौंसम्म थुनिएर अथवा ठाउँ सार्दै राखिएको अवस्थामा दर्जनौं नेपाली तथा विदेशी कामदारको बिचल्ली देखेर स्थानीय एजेन्टको मिलेमतोमा अफगानी भूमिबाट सीमापार गर्ने जुक्ति उनीहरूले निकालेका थिए ।

कसरी पुगे अफगानिस्तान ?
तीनमध्ये विनोद र गंगा दुवै जना विगतमा मलेसियामा मजदुरी गरेर घर फिरेका प्रतिनिधि हुन् । मोरङ, कानेपोखरीमा रहेका वैदेशिक रोजगारीका एजेन्ट सियाराम चौधरीमार्फत अफगानिस्तानको ‘आकर्षक रोजगारी’ बारे पत्तो पाएर जनही ६ लाख रुपैयाँभन्दा बढी चौधरीलाई बुझाउँदै उनीहरू गत वर्ष दिल्ली आइपुगेका थिए ।

दिल्ली आएर झन्डै ३ महिना यत्तिकै बिताएपछि बल्ल चैत दोस्रो सातामा गंगाबहादुर काबुल उडेका थिए भने विनोद असारमा मात्रै काबुल पुगे ।

त्यहाँको एउटै होटल अथवा एजेन्ट बस्ने घरको बन्दकोठामा गंगा र विनोदको भेट भएको थियो । कहिले भिसा अन्तर्वार्ता भन्दै र कहिले अरू परीक्षा भन्दै महिनौं झुलाएपछि बिहान–बेलुका खाना खानै उनीहरूलाई धौधौ परेको थियो ।

यी दुवैले नेपालबाट पैसा मगाएरसमेत खानपिनको दैनिक गुजारा चलाउनुपरेको थियो । ‘सुरुमा दलाललाई बुझाएको बाहेक ३ लाख रुपैयाँभन्दा बढी खाना र अरू खर्चकै लागि मगाउनुपरेको थियो,’ पीडितले भने ।

त्यो हूलमा चन्दबहादुर गुरुङ, घनी गुरुङ र लिम्बू थरका अर्का एक पीडित पनि थिए । उनीहरू एजेन्टलाई जनही ५ हजार डलर खुवाएर घर फिरिसकेका छन् ।

‘हामीसँग पैसा थिएन, १२ हजार पाकिस्तानी रुपैयाँ तिर्ने हो भने पारि पुर्‍याइदिन्छांैं भनेपछि हामी दुई जना जसरी हुन्छ, सीमा छिचोल्न सहमत भएका थियौं,’ गंगाले बयानमा भनेका छन् ।

सीमा पार गराउन ‘सख्त बिरामीजस्तो देखाएर एम्बुलेन्समा लैजानुपर्ने’ भएकाले सद्धे हातमा समेत अनेक इन्जेक्सन लगाउँदै, प्लास्टर–ब्यान्डेज र स्लाइन दिइरहेकै अवस्थामा एजेन्टले तोरखम बोर्डर कटाइदिएका थिए ।

२७ वर्षे विनोद अविवाहित हुन्् । तर, ४ छोराछोरीका बाबु गंगाबहादुरले भने आफगानिस्तानमा सुरक्षा गार्डको काम सजिलै पाइएला भनेर आफ्नो उमेर २० वर्ष घटाउँदै ३६ वर्षे बनेर एक वर्षअघि मात्रै एमआरपी लिएका थिए ।

विनोद र गंगा इस्लामावाद पुगेर नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट लिँदै बागा बोर्डर (पाकिस्तान–भारत सीमा) बाट नेपाल आउने प्रयत्नमा थिए । तर बागा सीमामा पुगेर पनि अध्यागमनले यात्रा अनुमति नदिएपछि उनीहरू फेरि इस्लामावाद फिरेका थिए ।

धादिङ घर भएका ३८ वर्षे सुकबहादुर सोनार भने नेपाली सेनाका पेन्सनवाला हुन् । गाउँमा कुखुरा पालन गरेर बसिरहेकै बेला ‘अफगानिस्तानमा जागिर खुलेको छ, महिनाको ११ सय डलर कमाउन सकिन्छ’ भनेर कुनै एजेन्टले सुनाएपछि सुकबहादुर विदेश जान तम्सिएका थिए ।

गत वर्ष चैतमा दिल्ली उत्रिएका उनी एक महिनापछि काबुल पुगेका थिए । त्यहाँ उनलाई कृष्ण सुनार भन्ने अर्का पीडित कामदार ‘रिसिभ’ गर्न आएका थिए । उनले दिएको जानकारीअनुसार निशा कार्की नामकी एक नेपाली युवतीले खोलेको क्याम्पमा आफूजस्तै केही नेपाली र विदेशी पीडित कामदार राखिएका थिए ।

दाल/रोटी खान दैनिक १० डलर बुझाउनुपर्ने कठिनाइमाझ अरू आयस्ता वा रोजगारी पाउने कुनै आशा बाँचेको थिएन । धादिङदेखि काठमाडौं हुँदै दिल्ली र काबुलसम्मका कोही पनि नेपाली एजेन्टहरू आसपासमा देखा पर्नै छाडेका थिए । जीउज्यान जोगाउन मात्रै सुकबहादुरले धादिङ घरबाट तीन लाख रुपैयाँ मगाइसकेका थिए ।

‘अरू उपाय नभएपछि स्थानीय एजेन्टलाई पैसा खुवाउँदै तोरखम बोर्डरबाट म पनि पाकिस्तान छिरेको थिएँ,’ सुकबहादुर भन्छन्, ‘साथमा कुनै प्रवेशाज्ञा नभएको र अवैधानिक सीमा प्रवेश गरेको भनेर मलाई तोरखम नाकामै सुरक्षा निकायले समातेको थियो । ४० दिनसम्म अनुसन्धानमा राखेपछि मात्रै मलाई नेपाली दूतावासको जिम्मेवारीमा छाडिएको थियो ।’
सुकबहादुर अफगानिस्तान–पाकिस्तान हुँदै भारतको सीमावर्ती विन्दुमा आएपछि एकाएक सम्पर्कहीन भएको खबर आएपछि इस्लामावाद दूतावासले तत्कालै ‘स्थिति पहिचान’ गरेको थियो । कूटनीतिक तहको खोजबिन र सरोकारपछि सुरक्षा निकायले सुकबहादुरलाई जनवरी २९ मा दूतावाससमक्ष बुझाएको थियो ।

हाल धादिङबेसीमा रहेकी सुकबहादुरकी श्रीमती प्रमिला सोनारले गत वर्ष फागुन २२ गते धादिङबाट हिँडेका आफ्ना श्रीमान् कसरी/कुन बाटोबाट अफगानिस्तान पुगे, कसरी पाकिस्तान गएका हुन्, केही थाहा नभएको बताइन् । उनले फोनमा भनिन्, ‘कहिलेकाहीं इस्लामावादमा दूतावासका सरहरूसँग कुरा हुन्छ । उहाँ छिट्टै फर्कने भनेको पनि थुप्रै महिना भइसक्यो, के भएको हो, केही थाहा छैन ।’

इस्लामावादस्थित राजदूत भरतराज पौड्यालले ‘कुनै एकअर्को देशको विधि–विधानलाई अटेर गर्दै गैरकानुनी हैसियतमा पुगेका आफ्ना नागरिकलाई घरफिर्ती गराउनुपर्दा यसपटक निकै कसरत गर्नुपरेको’ प्रतिक्रिया दिए ।

‘कुनै पनि नेपाली कामदारले यसरी अनधिकृत उपाय र बाटोबाट सीमा वारपार गर्नु भनेको जीउज्यानकै असुरक्षा रहनेसम्मको स्थिति हो,’ पौडेलले भने, ‘यसमा स्वयं नेपाली कामदारले पनि सुरक्षित र व्यवस्थित रोजगारीको बाटो अँगाल्नु उपयुक्त हुन्छ ।’

दलालै दलाल
जीउज्यान जोगाउने होडमा विदेशी भूमिका सीमावर्ती विन्दु छिचोल्दै हिँडेका तीन कामदारका अनुसार उनीहरू हरेकसँग एक दर्जनभन्दा बढी दलाल जोडिएका छन् । धादिङका सुकबहादुरका अनुसार उनलाई अफगानिस्तानको कामबारे गाउँमै शान्ता थापा, रामचन्द्र कार्की र रूपा गुरुङ भन्ने एजेन्टले सुरुमा आकर्षित गराएका थिए ।

दिल्लीमा एक महिना होटलमा बस्दा थुप्रै एजेन्टहरू सम्पर्कमा आइरहन्थे भने काबुलमा निशा कार्की एक्लै एक दर्जनभन्दा बढी देशी/विदेशी कामदार तह लगाएर बसेकी थिइन् । विनोद र गंगा भने मुख्य एजेन्ट सियाराम चौधरीसँग जोडिने एक दर्जनभन्दा बढी एजेन्टको नाम दिनहुँ फेरिने गरेकाले अझैसम्म केही सम्झन पनि अन्योलमै थिए ।

‘तोरखम’ कहाँ पर्छ ?

अफगानिस्तान र पाकिस्तानको एउटा प्रमुख व्यापारिक तथा आवतजावत नाका हो, तोरखम । अफगानिस्तानको राजधानी काबुलबाट जलालावाद सहर हँ‘दै तोरखम बोर्डर आइपुग्न २ सय २८ किलोमिटर छिचोल्नुपर्छ । पाकिस्तानतर्फ भने पेसावर सहर हँ‘दै तोरखमबाट इस्लामावाद पुग्न २ सय ५१ किलोमिटर दूरी पार गर्नुपर्छ ।

अवैधानिक सीमापार गतिविधि र आतंकवादको संशयका कारण तोरखम सीमाको अफगानी भूमितिर अमेरिकी सुरक्षा बेस र नेटो समेतले सैन्य संयन्त्र राखेका छन् । तोरखमको द्विदेशीय सीमामा अफगानिस्तान तथा पाकिस्तानका आ–आफ्ना सेनाले समेत निगरानी गरिरहेका छन् ।

विशेष दुवै देशका नागरिकलाई निश्चित किलोमिटर क्षेत्रसम्म आवागमन गर्न दिने र बन्द/व्यापार चल्ने नियमका कारण यो नाकाबाट एकैसाथ अवैधानिक सीमापार आवतजावत चल्ने गरेको हो ।

साभार  :कान्तिपुर, प्रकाशित: चैत्र २४, २०७२

register

Contact Us

info@jaagirkhane.com
9851087384
sdfsdafsdaf